दृष्टिविहीन क्रिकेट उपविजेतालाई जनही एक लाखसहित सम्मान गरिने
थानकोट ।
काठमाडौं महानगरपालिकाले दृष्टिविहीन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ र टोलीका अन्य सदस्यलाई ५० हजारका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।
शुक्रबार कामपाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ४४औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
त्यसैगरी, बैठकमा निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयलाई निकासा दिने, विद्यालय र हाताको सौन्दर्य अभिवृद्धि गर्न विद्यालयलाई अनुदान प्रदान गर्ने, नेपाल भाषाको पाठयक्रम स्वीकृत तथा पाठयपुस्तक संशोधन, १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म ‘भेरिएसन’ भएका विभिन्न पूर्वाधार योजनाको अनुमोदन गर्नेलगायत निर्णय भएका छन् ।
बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तरराष्ट्रिय सम्बन्ध, कानुन तथा मानवअधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रका ३० वटा प्रस्ताव र विविधमा दुईवटा विषयमाथि छलफल र निर्णय भएको छ ।














