बीपीएल खेल्न बंगलादेश उडे सन्दीप
थानकोट ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने दोस्रोपटक बंगलादेशको फ्रेन्चाइज क्रिकेट लिग बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्दै छन् । उनी यही प्रतियोगिताका निम्ति सोमबार नेपालबाट बंगलादेश प्रस्थान गरेका छन् ।
सन्दीपले यसअघि सिल्हेट स्ट्राइकर्सबाट सन् २०१८ मा बीपीएल खेलेका थिए । यस वर्ष बीपीएलकै अर्काे टिम राजशाही वारियर्सले सन्दीपलाई अनुबन्ध गरेको हो । राजशाहीले गत मंसिर २८ गते सन्दीपलाई अनुबन्ध गरेको जनाएको थियो ।
राजशाहीले बीपीएलको पछिल्लो संस्करण पाँचौँ स्थानमा रहँदै टुंग्याएको थियो । राजशाहीले सन् २०२४–२०२५ को संस्करणमा समूह चरणसम्मको मात्र यात्रा तय गरेको थियो ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट बलर चुनिएका सन्दीप पछिल्लो समय राजशाहीसँगको सम्झौताका कारण चर्चामा छन् ।
बीपीएल बंगलादेशको राष्ट्रिय फ्रेन्चाइज लिग हो । बंगलादेश क्रिकेट बोर्डले बीपीएल आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा कुल सात टिमको सहभागिता छ । डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने यो प्रतियोगितामा शीर्ष चार टिम प्लेअफका निम्ति छनोट हुने समीकरण छ ।
राजशाहीले सिल्हेट स्ट्राइकरसविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । राजशाहीले सिल्हेटविरुद्धको दोस्रो खेल भने जनावरी ९ मा खेल्नेछ ।
राजशाहीले ढाका क्यापिटल्सविरुद्धको पहिलो र दोस्रो खेल क्रमशः डिसेम्बर २७ र जनावरी ८ मा खेल्नेछ । राजशाहीले जनावरी १ र जनवरी १२ मा बीपीएलको अर्काे टिम रंगपुर राइडरसको सामना गर्नेछ ।
त्यसैगरी, राजशाही र नोखाली एक्सप्रेसबीचको पहिलो र दोस्रो खेल डिसेम्बर २९ र जनवरी १६ मा हुने तालिका छ ।
चाटाग्रोम च्यालेनजर्ससँगको दुई खेल जनवरी ५ र जनवरी १७ मा हुनेछ ।














