एन्फा यू-१६ युथ लिगको उपाधि नेपाल पुलिसलाई

Thankot Times

थानकोट ।

विभागीय टिम नेपाल पुलिस क्लबले एन्फा यू–१६ युथ लिगको उपाधि उचालेको छ । सोमबार पुलिसले अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई ६–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि उचालेको हो ।

यो जितसँगै प्रतियोगिताको शीर्ष टोली बन्दै पुलिसले प्रतियोगिता उचालेको हो । पुलिसले प्रतियोगितामा २६ खेल खेल्दा १९ जित, चार बराबरी र तीन हारसहित ६१ अंक बनायो ।

पुलिसले उपाधिसँगै एक लाख रुपैयाँ हासिल गरेको छ । प्रतियोगितामा पुलिसकै फरवार्ड समिर कुमार उत्कृष्ट खेलाडी चुनिएका छन् ।

पुलिसलाई सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा उपाधि दिलाउन टोलीका रिजनराज गौतमले ह्याट्रिक गरेका थिए । समिर कुमारले दुई गोल गर्दा अभिषेककुमार श्रेष्ठले एक गोल गरेका थिए ।

सोमबारै भएको प्रतियोगिताको अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग २–३ ले पराजित भएपछि मछिन्द्र फुटबल क्लब उपविजेता बनेको छ ।

हारबाट मछिन्द्र पुलिससँग तीन अंकले पछाडि परेको हो । तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्रले यस संस्करण प्रतियोगितामा कुल २६ खेल खेल्दा १९ १८ जित, समान चार बरारबी र हारसहित ५८ अंक बनायो ।

यो नतिजासँगै मछिन्द्रले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

सोमबार काठमाडौं च्यासलस्थित च्यासल रंगशालामा फ्रेन्ड्सलाई जित दिलाउन आर्यनकाजी थापा, सुजन विक र पुरन श्रेष्ठले समान एक गोल गरे । जवाफमा मछिन्द्रका राहुलकुमार योञ्जन र विकास थापाले समान एक गोल फर्काएका थिए ।

मछिन्द्रकै फरवार्ड विकास थापा प्रतियोगिताको सर्वाधिक गोलकर्ता चुनिए । उनले ट्रफीसँगै १५ हजार प्राप्त गरे ।

त्यसैगरी, मनाङ मर्स्याङ्दीका गोलकिपर विशाल गुरुङ सर्वाेत्कृष्ट गोलकिपर घोषित भए ।

सातदोबाटोले एक जितसहित पुछारमा रही प्रतियोगिता टुंग्याएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *