एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप: न्यू डाइमण्ड सेमिफाइनलमा

Thankot Times

थानकोट ।

नवौं  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै न्यू डाइमण्ड भलिबल क्लब सेमिफाइनल प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार सम्पन्न दिनको अन्तिम  खेलमा एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै न्यू डायमण्ड समूह चरणमा अपराजित बनेको हो।

डायमण्डले एभरेष्ट भलिबल क्लबलाई क्रमश: २५-२१, २५-१५ र २५-१४ को सेटमा पाखा लगायो। एभरेष्टलाई हराउँदै समूह चरणको अन्त्य गरेको न्यू डायमण्डको यो लगातार तेस्रो जित हो।

न्यू डायमण्डले अघिल्ला दुई खेलमा चुली युवा क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएको थियो। लगातार जितसँगै ३ खेलबाट ९ अंक जोडेको न्यू डायमण्ड समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

यस्तै, यही समूहबाट विभागीय टोली आर्मीले ३ मध्य दुई खेलमा जित र एकमा हारसहित ६ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ।

समूह ए बाट न्यू डायमण्ड र आर्मी सेमिफाइनलमा प्रवेश गर्दा दुई खेलमा लगातार हार व्यहोरेको एभरेष्ट भलिबल क्लब र चुली युवा क्लब भने बाहिरिएका छन्। यद्यपि, यी दुई टोलीले एकअर्काविरुद्ध बुधबार समूह चरणको अन्तिम खेल खेल्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *