एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फको उपाधिका लागि न्यु डाइमन्ड र नेपाल पुलिस भिड्ने

Thankot Times

थानकोट ।

साबिक विजेता विभागीय टिम नेपाल पुलिस क्लबले एनभीए भलिबल च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा न्यु डाइमन्ड युथ स्पोर्ट्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

शुक्रबार (पुस १८) काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा अर्काे विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएसँगै पुलिसले फाइनलमा न्यु डायमन्डसँग प्रतिस्पर्धा गर्ने तय भएको हो । पुलिसले आर्मीलाई २५–१२, २९–३१, २५–१४ र २५–१८ ले हरायो ।

न्यु डायमन्डले शुक्रबारै बिहान भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । 

फाइनल खेल शनिबार (पुस १९) दिउँसो ३ बजे उक्त कभर्ड हलमै हुने तालिका छ । 

पुलिस समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह चरणमा पुलिसले मधेस प्रदेश खेलकुद परिषद् र सुदूरपश्चिम प्रदेश खेलकुदलाई सोझो सेटमा हराउँदा एपीएफमाथि ३–२ को जित निकालेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *