एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: दीपेन्द्र र एरिका वर्ष खेलाडी
थानकोट ।
क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको २२ औँ संस्करणमा वर्षको उत्कृष्ट खेलाडी चुनिएका छन् । स्पोर्ट्स अवार्ड पहिलो पटक मोसफलमा आयोजना भएको हो ।
पुरुषतर्फबाट उत्कृष्ट चुनिएका दीपेन्द्रले क्रिकेटकै कुशल भुर्तेल, उसुका विजय सिन्जाली, खोखोका जनक चन्द, टेबलटेनिसका श्यान्टु श्रेष्ठलाई पछि पारे । गत वर्ष दीपेन्द्रले एसीसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गर्दै इतिहास बनाएका थिए । यस्तो कीर्तिमान बनाउने टी २० अन्तर्राष्ट्रियकै तेस्रो खेलाडी हुन् । वर्ष २०८१ मा ३७० रन जोड्नुका साथै २० विकेट लिन सफल भए । अमेरिकामा सम्पन्न टी २० विश्वकपमा ६ विकेट लिँदै उनी नेपालका लागि सर्वाधिक विकेट लिने बलर थिए । नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणमा सर्वोकृष्ट खेलाडी बन्दै कार जित्न सफल भएका थिए । प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउने क्रममा ४ अर्धशतक सहित ३०८ रन र ७ विकेट लिएका थिए ।

गत वर्ष चार अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने एरिकाले लगातार दोस्रो पटक वर्षक सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जित्न खो-खोकी मानमती धामी, करातेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पारिन् । एरिका २०८० को पनि वर्ष महिला खेलाडी घोषित भएकी थिइन् ।
गत वर्ष एरिकाले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण तथा अस्ट्रेलियन ओपन २०२४ र सिंगापुरमा सम्पन्न १६ औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । यसगरी एीरकाले चीनमा भएको २०औँ सिनियर कराते च्याम्पियनसिप र दुबईमा भएको विश्व कराते वन युथ लिगमा रजत पदक पनि हासिल गरिन् ।
भलिबलका हिमाल सुनारीले पिपल्स च्वाइसको अवार्ड जिते । ई-सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा हिमाल विजेता बनेका हुन् । हिमालले सर्वाधिक ४०.१० प्रतिशत मत प्राप्त गरे । यस अवार्डको मनोनयनमा फुटबलर रेखा पौडेल, क्रिकेटकी पूजा महतो, टेबलटेनिसकी इभाना थापा मगर र उसुका विजय सिन्जाली पनि प्रतिस्पर्धामा थिए ।
पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड हासिल गरे । नेगीले दीपक महर्जन (बक्सिङ), लक्ष्मी नारायण वैद्य (खो खो), महेश रिजाल (क्रिकेट) र पछल्ल्लो वर्षका विजेता कुशल श्रेष्ठ (कराते)लाई निराश बनाए । पलेशाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्दा नेगी प्रशिक्षकको भूमिकामा थिए ।
युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पुजा महतो घोषित भइन् । पूजा उत्कृष्ट भएको यस विधामा अजय विक (एथ्लेटिक्स), अञ्जली महर्जन (कराते), स्वस्तिका तिरुवा (बक्सिङ) र समीर तामाङ (फुटबल) पनि मनोनयनमा थिए । गत वर्ष पुजा नेपाली यु-१९ महिला टोलीलाई इतिहासमा पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टालीकी कप्तान थिइन् । सो छनोटमा पूजाले २७२ बनाई सर्वाधिक रनकर्ता बन्नुका साथ १० विकेट लिन सफल भइन् । उनले कुवेतविरुद्ध अविजित १३० रनको शतकिय पालि खेलेकी थिइन् । सोही वर्ष पूजा एसिसी महिला यु-१९ एसिया कप २०२४ मा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इतिहास रच्ने कप्तान पनि बनेकी थिइन् ।
पारा एथलिट अवार्डबाट एथलेटिक्सकी प्रभा आङदम्बे सम्मानित भइन् । नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पूरा नभएकी प्रभाले नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटक्समा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन् । टी ४७ क्याटेगोरीमा प्रभाले लङजम्पमा ३.९६ मिटर उचाई नाघेर ऐतिहासिक रजत पदक जितेकी हुन् । जुन पारा एथलेटिक्समा नेपालले जितेको अहिलेसम्मको ठूलो पदक हो ।
पेरिस पाराओल्मपिकमा कास्य पदक जितेर इतिहास बनाएपछि पारा तेक्वान्दाेकी पलेशा गाेवर्धनलाई ट्रेलब्लेजर अफ द इयर अवार्ड प्रदान गरिएकाे छ । पलेशा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुन् । गत वर्ष पलेसा एनएसजेएफ पारा एथलेट अवार्डबाट सम्मानित भएकी थइन् । यस्तै, खो-खोको वर्षकाे उत्कृष्ट टिम धाेषित भयाे । खाे-खाे महिला र पुरुष टिम भारतमम सम्पन्न विश्वकपकाे उपविजेता बनेकाे थियाे ।
यता, माेहम्मद हसन उल्लाखानले एसियन स्पाेर्ट्स जर्नालिस्ट र एथलेटिक्सका खड्ग रानाभाटले लाइटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरे । वर्षकाे उत्कृष्ट महिला तथा पुरुष खेलाडी, प्रशिक्षक, युवा खेलाडीलाई बजाज पल्सर बाइक प्रदान गरियाे । अन्य विधका विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गरे ।















