आफूखुसी उम्मेदवारी घोषणा गर्ने लहरपछि रास्वपाको निर्देशन- सामाजिक सञ्जालका पोस्ट हटाउनू
थानकोट ।
२१ फागुनको निर्वाचनको लागि आफूखुसी उम्मेदवारी घोषणा हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले त्यस्ता सामग्री सामाजिक सञ्जालबाट हटाउन निर्देशन दिएको छ । औपचारिक आवेदन दिएर वा नदिइकन सामाजिक सञ्जालमार्फत उम्मेदवारी प्रचार गरेपछि रास्वपाले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष तर्फका आकांक्षी उम्मेदवारहरू मध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिन आएको छ । यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार–प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ,’ रास्वपाले भनेको छ, ‘उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिनाफोटो सामाजिक सञ्जालमा एकपटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको छ ।’
प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा, प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचार–प्रसार गर्न सकिने रास्वपाले जनाएको छ ।
पार्टीको निर्वाचनसम्बन्धी आचारसंहिता तथा उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै सम्बन्धित सदस्यहरूलाई रास्वपाले अनुरोध गरेको छ ।















