राष्ट्रिय सभा सदस्य निर्वाचन : उमेदवारको नामावली प्रकाशन आज, उमेदवारको अन्तिम नामावली प्रकाशन भोलि
थानकोट ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन गर्दै छ ।
बिहीबार र शुक्रबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशन गर्न लागेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिएको थियो ।
पुस २७ गते (भोलि) उमेदवारले नाम फिर्ता लिने तथा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचनको कार्यतालिका छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गने लागेको हो । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।














