पूर्वराजा ज्ञानेन्द्र शाहको प्रश्न- हामी नारायणहिटीबाट निस्किएको दुई दशकमा पनि देश किन बनेन ?

Thankot Times

थानकोट ।

पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटीबाट निस्किएको दुई दशकमा पनि देश नबनेको बताउँदै अब त देश नै नबस्ने हो कि भन्ने चिन्ता थपिएको बताएका छन् ।

३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन दिएको सन्देशमा यस्तो बताएका हुन् ।

“जस्तोसुकै अवस्थामा पनि संघर्ष गरेर सबै क्षेत्रका नेपालीको शक्ति सवल र सफल नेतृत्व गरेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु छर्लंग छ,” उनले भनेका छन्, “पलायन वा निषेधित राजनीतिका लागि थिएन । नारायणहिटी दरबारबाट हामी बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो आज देश नै नबस्ने हो कि भन्ने निरासा पैदा भएको छ ।”

“स्वदेशको पुँजी पलायतमा रोक लगाउनुपर्नेछ । जनता सक्षम र बलिया भएमात्र देश बलियो हुन्छ भन्ने दिव्य उपदेशमा उल्लेख छ,” पूर्वराजा शाहले भनेका छन्, “जब जब युवा पुस्ताको चाहना र भावनाको सम्बोधन गरिँदैन तब असन्तोष पैदा हुन्छ । त्यसले  विद्रोह निम्त्याउँछ ।”

उनले युवालाई राजनीतिक दलले प्रयोगमात्रै गरेकोमा चिन्ता व्यक्त गरे ।

“नेतृत्वले पटक–पटक युवालाई प्रयोगमात्रै गर्ने तर भावना बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मिएर देशमा जनधनको क्षति भयो,” उनले भने, “भविष्यका कर्णधारको ज्यान गयो त्यसले स्तब्ध बनाएको छ । स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ । परिचालित व्यक्तिले अर्काको भलो खोज्दै हिँड्छ ।”

उनले नेपालको संवेदनशील अवस्था र बदलिँदो भूराजनीतिलाई बुझने नसक्दा मित्र राष्ट्रको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *