नेकपा प्रवेश गर्दै अभियन्ता सुमन सायमी, काठमाडौं- ८ बाट चुनाव लड्ने समझदारी

Thankot Times

थानकोट ।

अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् ।

नेकपा नेता हिमाल शर्माले सायमीसहित गुठी आन्दोलन र सहकारी पीडित संघर्ष समितिको नेतृत्व नेकपामा समाहित हुन लागेको मंगलबार फेसबूकमार्फत जानकारी दिएका छन् ।

‘काठमाडौंको गुठी आन्दोलनबाट उदाएका चीर-परिचित मुख्य नेतृत्व सुमन सायमीसहित हजारौं नेवाः अभियन्ताहरू र सहकारी पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्षसहित सबैजना संघर्षरत समुदायलाई भव्य स्वागत गरिनेछ,’ शर्माले फेसबूकमा लेखेका छन् ।

सोमबार प्रचण्डले पनि यस्तै संकेत गरेका थिए । पत्रकारको एउटा प्रश्नमा प्रचण्डले काठमाडौंमा चुनाव जित्ने गरी आउन लागेको बताएका थिए ।

‘अहिले नै भन्यो भने सबै सस्पेन्स खत्तम भइहाल्छ । पर्सि (पुस ३० गते) राष्ट्रिय सभागृहमा बाजागाजासहित काठमाडौंमा चुनाव जित्ने हिसाबले हामी आउँदैछौं,’ प्रचण्डले भनेका थिए ।

सायमी अघिल्लोपटक काठमाडौं- ८ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । सो क्षेत्रमा रास्वपाका विराजभक्त श्रेष्ठ १० हजार मत ल्याएर विजयी हुँदा सायमीले झण्डै ६ हजार मत ल्याएका थिए ।

उनले स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । त्यसक्रममा सायमीले १३ हजारभन्दा बढी मत ल्याएका थिए ।

यसपटक पनि सायमी काठमाडौं- ८ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी रहेको नेकपा स्रोतले जानकारी दियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *