देउवाले सभापति पद छोड्‌न नमानेपछि निर्वाचनमा मोडियो कांग्रेस विशेष महाधिवेशन

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ । रातभरका विभिन्न चरणका वार्ता भए पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत मोडिएको हो ।

विशेष महाधिवेशन प्रचारप्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए । उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौं । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’

पोखरेलले मंगलबार बेलुकी नै विषेश महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने बताएका थिए ।

उनले संस्थापन पक्ष विषेश महाधिवेशनको अपनत्व लिन तयार भए पनि सभापति देउवा नेतृत्व छोड्न तयार नभएको उल्लेख गर्दै सो कुरा आफूहरूको लागि स्वीकार्य नरहेको बताए । पोखरेलले सभापति देउवाले पार्टी नेतृत्व छोडेर पार्टी र व्यक्तित्वबारे लेखनमा बाँकी जीवन व्याप्त गर्नुपर्नेमा जोड दिँदै अब निर्वाचन प्रक्रिया मात्र बाँकी रहेको बताएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्दसत्र समापन गरिएको छ ।

यसैबीच विशेष महाधिवेशनका नेताहरूले पदाधिकारीको खाकासमेत तयार गरिरहेको जनाइएको छ ।

बुधबार बिहान वार्ताको ढोका खुला राखिरहँदा निर्वाचनको नयाँ तालिकाअनुसार प्रक्रिया पनि अगाडि बढ्ने भएको छ । मनोनयन दर्ताका लागि बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्मको समय थप गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *