बालेनको चुनावी प्रचारका लागि दमकमा खोजियो तीनवटा घर, ५ माघमा र्‍यालीसहित उम्मेदवारी दिँदै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का लागि दमकमा तीनवटा घर खोजिएको छ । २१ फागुनको निर्वाचनलक्षित चुनावी प्रचारका लागि घर खोजिएको रास्वपा झापा सभापति प्रकाश पाठकले जानकारी दिए ।

उनका अनुसार दुईवटा घर चुनावी प्रयोजनका लागि टुङ्गो लगाइएको छ, जसमा एउटा दमक नगरपालिका–३ क्याम्पस मोडमा खोजिएको छ भने अर्को दमक– ५ मा खोजिएको छ । अर्को घर पनि दमकभित्रै खोजिएको र त्यसको भिडियो, तस्वीर बालेन सचिवालयलाई पठाइसकिएको पाठकले जानकारी दिए ।

उनका अनुसार बालेनको सचिवालयका सदस्य आज बेलुका दमक पुग्दै छन् । कार्यालय व्यवस्थापनका लागि उक्त समूहले काम गर्नेछ । चुनावी प्रचार, रणनीतिलगायतका कार्य सोही तीन अफिसमा बसेर बनाउने योजना छ । बालेनका लागि यी घरहरू दुई महिनाका लागि भाडामा लिइएको छ ।

पाठकका अनुसार बालेन ४ माघमा जनकपुरमा हुने विशेष सभालाई सम्बोधन गरेर सिधै झापा आउनेछन् । उनी ५ माघमा दमकस्थित झापा निर्वाचन क्षेत्र– ५ को कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नेछन् ।

उक्त कार्यका लागि विशेष र्‍यालीको व्यवस्था गर्न क्षेत्रीय समिति सक्रिय भएर लागेको पाठकले जानकारी दिए । उनले अन्य क्षेत्रको तयारी पनि तीव्र पारिएको बताए ।

झापा–५ मा यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् । ओलीसँग प्रतिस्पर्धा गर्न शाह झापा जाने कुरालाई चासोका साथ हेरिएको छ । शाहको ससुराली पनि झापा–५ गौरादह हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *