विद्यार्थी गुणीय चक्रको राष्ट्रिय सम्मेलन सम्पन्न, ब्राइट फ्युचरकी गृष्मालाई सम्पूर्ण गुणी व्यक्ति अवार्ड
थानकोट ।
विद्यार्थी गुणीय चक्र (एसक्यूसी) को उन्नाइसौँ राष्ट्रिय सम्मेलन शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
विद्यार्थी गुणीय चक्रको क्षेत्रमा कार्यरत संस्था क्वेष्ट नेपालको आयोजनामा पोखरास्थित सेन्ट मेरिज स्कुलमा पौष ३० देखि माघ २ गतेसम्म तीन दिन चलेको सम्मेलनमा देशभरका करिब ८० विद्यालयका झन्डै ५०० जना विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सम्मेलनअन्तर्गत विभिन्न पाँच विद्यालयका पाँच जना विद्यार्थीले मनसा मेमोरियल सम्पूर्ण गुणी व्यक्ति अवार्ड प्राप्त गरेका छन् ।
जसमा चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइटफ्यूचर माविकी गृष्मा भट्ट पनि रहेको विद्यालयले जनाएको छ ।
देशभरबाट हरेक वर्ष पाँच सहभागीलाई मात्र प्रदान गरिने उक्त अवार्ड प्रा. डा. दिनेश चापागाईंकी छोरी मानसीको स्मृतिमा स्थापना गरिएको हो।
त्यसैगरी, ब्राइट फ्युचर मावि आवद्ध एफिनिटी हबलाई उत्कृष्ट हबका रूपमा घोषणा गर्दै हबका को-अर्डिनेटर लक्ष्मीराज दाहाल सम्मेलनका क्रममा सम्मानित भएको विद्यालयले जनाएको छ ।
विद्यार्थीको नेतृत्व विकास, गुणस्तरीय सिकाइ र सहकार्यमा आधारित गतिविधिहरूमा प्रभावकारी भूमिका निर्वाह गरेबापत दाहाललाई उक्त सम्मान प्रदान गरिएको हो।
सम्मेलनमा नेपालमा विद्यार्थी गुणीय चक्रका सुरुवातकर्ता प्रा. डा. दिनेश चापागाईं, क्वेष्ट नेपालका अध्यक्ष नारद रिजाल, उपाध्यक्ष ब्राइट फ्यूचर माविका अध्यक्ष मोहन कुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।















