प्रतिनिधि सभा सदस्य निर्वाचनः देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
थानकोट ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत आज भएको मनोनयन दर्ताका क्रममा यो संख्यामा मनोनयन दर्ता भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
कुल उम्मेदवारमध्ये ३९५ महिला, ३ हजार ८८ पुरुष र १ जना अन्य समूहका छन् । राजनीतिक दलको तर्फबाट २ हजार २९७ जनाले मनोनयन दर्ता गराएका छन्, जसमा २३५ महिला, २ हजार ६४ पुरुष र १ जना अन्य समूहका उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारको संख्या १ हजार १८७ पुगेको छ, जसमा १६० महिला र १ हजार २४ पुरुष छन् ।
उमेरगत विवरणअनुसार २५ देखि ३५ वर्ष समूहमा ५८३ जना उम्मेदवार छन् । यस समूहमा ६७ महिला, ५१५ पुरुष र १ जना अन्य समूहका छन् । ३६ देखि ५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै १ हजार ६१० जनाको उम्मेदवारी परेको छ, जसमा २३५ महिला र १ हजार ३७५ पुरुष छन् ।
५१ देखि ६५ वर्ष उमेर समूहमा १ हजार ९० जना उम्मेदवार छन् । यसमा ९० महिला र १ हजार पुरुष छन् । ६५ वर्षभन्दा माथि उमेर समूहका २०१ जनाले उम्मेदवारी दिएका छन्, जसमा ३ महिला र १९८ पुरुष छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि कुल ६८ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् । आयोगले सार्वजनिक गरेको यो विवरण प्रारम्भिक सूची भएको र यसमा सामान्य परिवर्तन हुन सक्ने जनाएको छ ।














