प्रतिनिधि सभा सदस्य निर्वाचनः एक मतदान केन्द्रमा नौ जना निजामती कर्मचारी
थानकोट ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जना निजामती कर्मचारी खटाउने गरी कर्मचारी व्यवस्थापन गरिरहेको छ ।
पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन स्वयंसेवकसहित नौ कर्मचारी खटाउने तयारी आयोगको छ ।
त्यस्तै पाँच सय जनासम्म मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित आठ जना कर्मचारी खटाउने गरी आयोगले कर्मचारी व्यवस्थापनको काम गरिरहेको छ । अस्थायी मतदान केन्द्रका लागि भने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित पाँच जना कर्मचारी खटाउने व्यवस्था छ । अहिले देशभर २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ती सबै मतदान केन्द्रमा आयोगले कर्मचारी खटनपटन गर्दा करिब दुई लाख १३ हजार जना आवश्यक पर्ने छ । उनले भने, “निजामती कर्मचारी पुगेसम्म निजामती नै तर निजामती कर्मचारी अपुग हुँदा सामुदायिक विद्यालयका शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीसमेत खटाउने तयारी अयोगले गरिरहेको छ ।”
आयोगले ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ वटा निर्वाचन अधिकृतको कार्यालय, ७७ वटा जिल्ला निर्वाचन कार्यालय, सात वटा प्रदेश निर्वाचन कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नु पर्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्भव भएसम्म जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतको कार्यालयमा न्याय सेवाका उपसचिवस्तरका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतस्तरका र सात प्रदेश निर्वाचन कार्यालयमा उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा कर्मचारी खटनपटन गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयले अन्तर्गतका मतदान केन्द्रमा कर्मचारी खटनपटन गर्ने काम आयोग गरिरहरेको छ ।














