निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउन आयोगले टिकटकसँग सहकार्य गर्ने
थानकोट ।
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि सामाजिक सञ्जाल टिकटकसँग सहकार्य गर्ने भएको छ।
निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना र दुष्प्रचारलाई नियन्त्रण गर्दै निर्वाचनलाई स्वच्छ बनाउन आयोगले टिकटकसँग सहकार्य अघि बढाएको हो।
बुधबार आयोगमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले टिकटकको टोली आफैं नेपाल आएर निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा खुसी व्यक्त गरे।
उनले टिकटकजस्तो संस्था आफैं अग्रसर भएर नेपालको निर्वाचन प्रक्रियामा सघाउने प्रस्ताव गर्नु विश्वास नै नलाग्ने सुखद पक्ष भएको बताए।
भण्डारीले भने, ‘सरकार लगायत कसैलाई पनि टिकटक आफैं नेपालमा आएर यसरी सहयोग गर्छ भन्ने विश्वास थिएन होला। तर, तपाईंहरूले जुन विश्वास दिलाउनुभयो र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो, त्यसले हामीलाई उत्साहित बनाएको छ।’
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रविधिको सदुपयोग भए त्यसले राम्रो नतिजा दिने तर दुरुपयोग भएमा निर्वाचनलाई नै दखल पुर्याउने बताए।
आगामी निर्वाचनमा सामाजिक सञ्जालका विविध पक्षहरूले प्रभाव पार्न सक्ने पूर्वअनुमान आयोगले गरेको भन्दै उनले टिकटकको सहयोगले भ्रामक र झुटो प्रकृतिका सामग्रीहरू समयमै नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
‘आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन यहाँहरूले जुन सहयोग गर्ने प्रतिबद्धता देखाउनुभयो, त्यसका लागि आयोग र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु,’ भण्डारीले भने।
भण्डारीले विश्वको नजर नेपालको निर्वाचन आयोग र निर्वाचन प्रणालीमा रहेको भन्दै टिकटकले देखाएको सद्भाव ऐतिहासिक भएको टिप्पणी गरे। उनले टिकटकले निःशुल्क रूपमा प्राविधिक सहयोग र सहकार्य गर्न देखाएको तदारुकता प्रशंसायोग्य र निष्ठावान भएको बताए।
उनले भने, ‘निर्वाचनको मतदान हुनुभन्दा २-३ दिन अगाडि सामाजिक सञ्जालमा भद्रगोल अवस्था आउन सक्छ भन्ने हाम्रो आंकलन छ। त्यो बेलासम्म यहाँहरूले राम्रोसँग सहयोग गरिदिनुभयो भने नेपालले यसलाई आफ्नो इतिहासमा लेख्नेछ।’
कार्यक्रममा आयोगका अन्य पदाधिकारी र टिकटकका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। आयोगले यसअघि नै सामाजिक सञ्जालमार्फत हुने निर्वाचन आचारसंहिता उल्लंघनका घटनालाई कडाइका साथ नियमन गर्ने जनाउँदै आएको छ।
















