एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका निम्ति ६७ करोड
थानकोट ।
पूर्वाधार विकास मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका निम्ति ६७ करोड एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
हालसालै सार्वजनिक आउँदो आवका निम्ति वार्षिक विकास कार्यक्रमअन्तर्गत उक्त योजना समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आउँदो आवका निम्ति निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग बनाउन ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
ग्वार्काे–सातदोबाटो–एकान्तकुना फ्लाइओभरका निम्ति १२ करोड ६६ लाख रपैयाँ छुट्ट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख छ ।
यस्तै, सुरुङमार्ग विकास कार्यक्रमका निम्ति तीन करोड ७७ लाख ८० हजार रुपैयाँ बजेट छुट्ट्याइएको छ ।
मन्त्रालयले टोखा–छहरे–गुर्जु भन्ज्याङ सुरुङमार्गका निम्ति ११ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका निम्ति पाँच लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
दोलालघाट–चर्नावती सुरुङमार्गका निम्ति १८ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
हात्तीसार–बबई सुरुङमार्गका निम्ति सात लाख ५६ हजार रुपैयाँ छुट्ट्याइएको छ । खुर्काेट–चियाबारी सुरुङमार्गको अध्ययनका निम्ति तीन लाख ९२ हजार रुपैयाँ विनियोजना गरिएको छ ।
शिवपुर–भालुवाङ सुरुङमार्गका निम्ति तीन लाख ९२ हजार रुपैयाँ रकम छुट्ट्याइएको छ ।
रानीघाट–भुरीगाउँ सुरुङमार्गका निम्ति तीन लाख ९२ हजार रुपैयाँ बजेट छुट्ट्याइएको छ ।
थानकोट-चित्लाङ सुरुङ सम्भाव्यता अध्ययन आगामी वर्षको बजेटमा समावेश भएको भएतापनि बजेट छुट्टिएको छैन् ।












