बुढासुब्बा गोल्डकपः झापा-११ को क्वार्टरफाइनलमा

Thankot Times

थानकोट ।

२६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा झापा–११, झापाले रोयल थिम्पु भुटानलाई २-० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा झापा–११ ले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण जित निकालेको हो ।

निर्धारित ९० मिनेटको खेलमा झापा–११ ले खेलको पहिलो हाफको ३५औँ मिनेटमा मौसब सुब्बाको पासमा सुनिल खड्काले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफको १८औँ मिनेटमा राजेश दाहालले एकल प्रयासमा सानदार गोल गर्दै अग्रता दोब्बर बनाए ।

रोयल थिम्पु भुटानले खेलको २१औँ मिनेटमा कर्नरको अवसर पाए पनि गोलमा परिणत गर्न सकेन । खेल अवधिभर भुटानी टोलीका थुप्रै प्रहार प्रयासहरू असफल भए ।

दर्शकको उत्साहपूर्ण समर्थन पाएको झापा–११ ले खेल अवधिभर आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि दबाब कायम राखेको थियो ।

खेलको ‘म्यान अफ द म्याच’ झापा–११ का खेलाडी राजेश दाहाल घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

गोल्डकप विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत शनिबार प्लानिङ ब्वाइज काठमाडौं र न्युरोड टिम (एनआरटी क्लब) काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । एनआरटी काठमाडौं बुढासुब्बा गोल्डकपको ह्याट्रिक विजेता समेत हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *