उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन समिति गठन गर्ने निर्णय

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यका मेयर्स फोरमको १३औँ बैठकले उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

समितिले फोहर व्यवस्थापनका विधि र प्रविधि अध्ययन गर्नुका साथै स्थानीय तहबीच समन्वय र सहकार्य गर्नेछ।

बैठकले सार्वजनिक यातायात सञ्चालनलाई दिगो बनाउन अघिल्ला अध्ययन प्रतिवेदनहरूको पुनरावलोकन गरी नेपाल सरकारसँग सहकार्य गर्ने तथा गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेनका लागि कानुन र गुरु योजना तयार गर्ने निर्णय पनि गरेको छ।

फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेट्रो अवधारणा कार्यान्वयनमा संघ सरकारसँग सहकार्य गर्न स्थानीय तह तयार रहेको बताए।

यस्तै, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाको भूगोल र सामाजिक संरचना सुहाउँदो सार्वजनिक यातायात मोडेल आवश्यक रहेको उल्लेख गरिन्।

बैठकअघि फोहर व्यवस्थापनको वर्तमान अवस्था र ल्याण्डफिल साइट व्यवस्थापनबारे प्रस्तुति गरिएको थियो। हाल ६ जिल्लाका २४ पालिकाको फोहर अन्तिम व्यवस्थापन उक्त साइटमा हुँदै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *