दलीय राजनीतिबाट बिदा लिएको राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको घोषणा

Thankot Times

थानकोट ।

लगातार ३ वटा संसदीय चुनावमा हार बेहोरेपछि रवीन्द्र मिश्रले दलीय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।

राप्रपा वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले सामाजिक सञ्जालमार्फत राजनीतिबाट बिदा लिएको बताएका हुन् ।

आफूले धेरै सोचेर यो निर्णय लिएको उनले बताएका छन् ।

उनी भन्छन्, ‘मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोची-विचारी लिँदैछु।’

देशभरि राजसंस्था पुन:स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पुँजीकृत गर्न राप्रपा विविध कारणले बारम्बार विफल भएको उनको भनाइ छ ।

पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले आफूले राप्रपाको हारको जिम्मेवारी लिने उनले बताए ।

आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको उनले घोषणा गरेका छन् । यद्यपि राजसंस्था पुन:स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा आफ्ना अडान यथावत रहने उनले बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन।’

निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै रास्वपालाई उनले बधाई दिएका छन् । उनी अगाडि लेख्छन्, ‘ प्रचण्डपथ’मा पट्टी लगाएको घोडासरह एकोहोरिएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस्- त्यत्ति कामना गर्दछु।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ