पछिल्लो आठ महिनामा भित्रियाे ८२ अर्बकाे डिजेल, ४३ अर्ब ८९ करोडको पेट्रोल

Thankot Times

थानकोट ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहारेको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार उक्त अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो ।

पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ ।

गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र पाँच खर्ब ६७ अर्ब ३९ करोड छ । यस अवधिसम्ममा भारतबाट सात खर्ब २४ अर्ब छ करोडको वस्तु आयात भएको छ भने एक खर्ब ५६ अर्ब ६६ करोड बराबरको निर्यात भएको छ ।

त्यस्तै, छिमेकी मुलुक चीनसँग दुई खर्ब ७५ अर्ब ६६ करोड ७० लाखको आयात र ९८ करोड ३३ लाखको निर्यात हुँदा दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाखको व्यापार घाटा व्यहोर्नुपरेको विभागले जनाएको छ ।

नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन् । नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन् ।

पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्याण्डसँग दुई करोड ५७ लाख बराबर व्यापार नाफा देखिएको छ । यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *