प्रधानमन्त्री कार्कीले रविलाई भनिन्- अहिले देश रोएको छ, चुनौती धेरै छन्, सम्हालिएर अघि बढ्नू

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । आइतबार बालुवाटार पुगेर रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।

सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाई दिए । उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो सफलताका लागि म  प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’

लामिछानेले सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गराउन सफल भएको भन्दै प्रधानमन्त्रीकाे चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पाएकाे बताए ।

उनले थपे, ‘यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ । सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ । यसका लागि तपाईँप्रति हाम्रो उच्च सम्मान छ । तपाईंको यो योगदान मुलुकले सधैँ सम्झिनेछ । हामी पनि सम्झिइरहनेछौँ। आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौँ । तपाईँको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ।’

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन् । ‘अहिले देश रोएको छ । तपाईं युवाहरूसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्। तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ। चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ। विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ ।’

भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो । सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पारे । ‘सरकार भनेको सरकार नै हो। अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ। यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन,’ उनले भने, ‘अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ। त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौँ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *