चन्द्रागिरि नगरपालिका वडा नं. १५ तिनथानास्थित एक घरमा चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार उनीहरूलाई मंगलबार काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा प्रशन्न अधिकारी, लाक्पा शेर्पा, प्रदीप गुरुङ, सागर कामी र गौरब गुणाजी मोरे रहेका छन्।
भट्टले प्रशन्न र सागर विगतमा पनि चोरी मुद्दामा पक्राउ परेका व्यक्ति हुन् भने शेर्पा अभद्र व्यवहार गर्न नहुने मुद्दामा पक्राउ परी छुटेका व्यक्तिहरू रहेको जानकारी दिए।
उनीहरूको साथबाट प्रहरीले २३.३०० ग्राम सुन, चार थान मोबाइल र एकवटा मोटरसाइकल बरामद गरेको छ।
यसबारेमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।















