प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण
थानकोट ।
नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई दिउँसाे १२ बजेर ३४ मिनेटमा शपथ गराएका हुन् ।
शाह आजै प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गरेका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित थिए ।
समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।
प्रधानमन्त्रीको शपथ पहिलो पटक वैदिक-सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहलाई हिजाे पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।















