अनि नागढुङ्गा नाकामा तरकारी बोकेका १६ वटा गाडीबाट नमुना संकलन गरियो…

Thankot Times

थानकोट ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँका होटल, खाजा घर तथा नाकामा भित्रिने तरकारीमा अनुगमन गरेको छ ।

सो क्रममा केहीमा खाद्य स्वच्छता र गुणस्तर सन्तोषजनक पाइए पनि कतिपय व्यवसायमा मापदण्ड उल्लंघन देखिएपछि सुधार निर्देशन दिइएको छ ।

विभागले आकस्मिक अनुगमनअन्तर्गत ताहाचलस्थित सोल्टी होटलमा गरेको निरीक्षणमा खाद्य पदार्थको भण्डारण, सरसफाइ र पेस्ट कन्ट्रोलको व्यवस्था सन्तोषजनक पाइएको जनाएको छ । पकाएको र काँचो खाद्य वस्तु छुट्टाछुट्टै राखिएको, पानीको नियमित परीक्षण गरिएको तथा प्रयोग गरिएको तेलको टीपीएम १६.० भित्र रहेको पाइएको विभागले जनाएको छ । यद्यपि, नमुना परीक्षणका लागि केही खाद्य पदार्थ र पिउने पानी संकलन गरिएको छ । जसमा होटेलमा बनाइएको म्सि भेज सलाद, ब्राउनि, डेजर्ट र प्रशोधित पिउने पानीको नमुना संकलन गरिएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिकासँगको संयुक्त अनुगमनमा सोर्हखुट्टेस्थित सुनिता खाजा घरमा अनावश्यक वस्तु भण्डारण, पेस्ट कन्ट्रोलको अवस्था सन्तोषजनक नरहेको, अव्यवस्थित भण्डारण तथा तयार खाद्य वस्तु नढाकी राखिएको भेटिएको छ । सो स्थानमा प्रयोग गरिएको तेलको टीपीएम २.५ भई मापदण्ड अनुरुप नै भेटिएको छ । विभागले भान्सामा सजिलै प्रयोग गर्न मिल्ने टेबुल प्रगर्न गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिएको छ ।

पकमाजोल क्षेत्रको नेपाल युवक क्याटरिङ सेवामा पनि सरसफाइ सन्तोषजनक नरहेको, कृत्रिम रङ प्रयोग गरिएको तथा भान्साको संरचना अव्यवस्थित रहेको पाइएको छ । विभागले त्यहाँ सरसफाइ सुधार गर्न, संरचना व्यवस्थित गर्न र तीन दिनभित्र सुधार नगरे कारबाही गरिने चेतावनी दिएको छ ।यता, थानकोट (नागढुंगा) नाकाबाट काठमाडौं भित्रिने फलफूल तथा तरकारीमा गरिएको अनुगमनमा १६ वटा सवारी साधनबाट संकलित ३१ नमुनाको विषादी परीक्षण गर्दा सबै नमुना मापदण्डअनुसार रहेको विभागले जनाएको छ । आरबीपीआर विधिबाट गरिएको परीक्षणमा खानयोग्य नै रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ