सांसदहरूले जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

Thankot Times

थानकोट ।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सांसदलाई आउँदो जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन जारी गरेको छ ।

सचिवालयले सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १ को कोठा नं. २०७) मा कार्यालय समयभित्र सम्पत्ति विवरण दर्ता गराउन भन्दै सूचना प्रकाशन गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले जिम्मेवारी सम्हालेको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण तोकिएको निकाय/अधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

सोहीबमोजिम सिलबन्दी खाममा विवरण बुझाउन सूचना जारी गरिएको हो ।

गएको फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो ।

निर्वाचित सांसदले यही चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ