नेपाली कांग्रेस अनुशासन समितिमा ५०७ जनाविरुद्ध पर्‍यो उजुरी

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अनुशासन उल्लंघन गर्ने पाँच सय सात जनाविरुद्ध अध्ययन गरी चाँडो टुंगाेमा पुर्‍याउने निर्णय गरेको छ ।

बैठकमा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेका, निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रूपमा विपक्षीलाई टेवा पुर्‍याएका, निर्वाचनमा कांग्रेसलाई मत नमागी ‘साइलेन्स किलिङ’को काम गरेका र कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधिसभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका विरुद्ध छलफल भएको थियो ।

बैठकले छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरेको भनी आरोप लागेका व्यक्तिबाट सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

यसैगरी, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराएको छ ।

आगामी दिनमा यस्ता गलत काम गर्ने जोकोही व्यक्तिउपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यले अनुशासन उल्लंघन गरेका भए सोको उजुरी २०८२ चैत मसान्तभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरेको छ । उक्त समयपछि आएका उजुरीउपर कुनै कारबाही नगर्नेसमेत समितिले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *