विपक्षमा उम्मेदवारी नपरेपछि सभामुखमा डीपी अर्याल निर्विराेध
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि सभाकाे सभामुखमा निर्विराेध चयन भएका छन् ।
सभामुखका लागि अर्यालकाे एकल उम्मेदवारी परेकाे थियाे ।
यसअघि नेकपा एमालेले उम्मेदवारी दिने तयारी गरेकाे थियाे । तर, एमालेले उम्मेदवारी नदिने भएपछि रास्वपाका अर्याल निर्विराेध चयन भएका हुन् ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखका लागि रास्वपाका अर्यालकाे एकल उम्मेदवारी परेकाे बताए ।सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो ।
उनले भने, ‘सभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्तावका लागि बिहान ११ देखि दिउँसाे २ बजेसम्मकाे समय निर्धारण गरिएकाे थियाे । याे समयमा एक मात्र प्रस्ताव दर्ता हुन आएकाे छ ।’
शुक्रबार अर्यालले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो ।
प्रस्तावक रवि लामिछाने र समर्थक स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतमसहितले अर्याललाई सभामुख पदमा निर्वााचित गरियाेस् भनेर प्रस्ताव दर्ता गराएका थिए ।
कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको हाे । दर्ता भएका प्रस्तावका सूचनालाई २२ चैतमा हुने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित थियो । उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
प्रतिनिधि सभामा नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद् छन् ।
सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ ।
यसैबीच प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आइतबारका लागि निर्धारण गरिएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारी अनुसार शपथ कार्यक्रम दिउँसो साढे २ बजे सञ्चालन हुनेछ। उक्त कार्यक्रम शीतल निवासस्थित राष्ट्रपति भवनमै आयोजना गरिनेछ।
सभामुख अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।














