बागमती प्रदेश सभाको बैठक चैत्र २४ मा बस्ने
थानकोट ।
बागमती प्रदेश सभाको बैठक आगामी मंगलबार बस्ने भएको छ ।
आइतबार (चैत २२) को प्रदेश मन्त्रिपरिषद् बैठकले मंगलबार बस्ने गरी बैठक बोलाउने निर्णय गरेको हो ।
गत साउनदेखि प्रदेश सभा बैठक बस्न सकेको छैन् । बैठक सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिकाको भवनलाई अस्थायी रूपमा तयार गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
मन्त्री तामाङका अनुसार, बैठकले नीति संरचना र सेवा विस्तारमा जोड दिँदै करिब डेढ दर्जन निर्णय गरेको छ ।
बैठकले प्रदेश निजामती सेवा नियमावली, २०८२ स्वीकृत गरेको छ । त्यस्तै, विज्ञापन नियमन निर्देशिका र बहुवर्षीय ठेक्का मापदण्ड संशोधन गरेको छ ।
०८३ मा दिइने सार्वजनिक बिदाबारे पनि बैठकले निर्णय लिएको छ ।
बागमती प्रदेश विश्वविद्यालयसम्बन्धी पहिलो संशोधन स्वीकृत भएको छ भने प्रदेशस्तरमा योजनाबद्ध जग्गा विकासका लागि विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति दिइएको छ ।
प्रदेश सभा भवन निर्माणका लागि संघीय सरकारबाट ३१ हेक्टर जग्गा प्राप्त भइसकेकाले सोही स्थानमा सबै मन्त्रालय र सचिवालयलाई एकीकृत गर्ने गुरुयोजनासहित काम अघि बढाइने भएको छ ।














