एअरपोर्टमा यात्रु बिदाइका क्रममा अनावश्यक भीड नियन्त्रण गर्न आग्रह

Thankot Times

थानकोट ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले यात्रु बिदाइका क्रममा अनावश्यक भीड नियन्त्रण गर्न पुनः आग्रह गरेको छ। विमानस्थल प्रशासनले एक जना यात्रुको बिदाइमा बढीमा तीन जना आफन्त मात्र उपस्थित हुन अनुरोध गरेको हो।

विमानस्थलका अनुसार एक यात्रुलाई बिदाइ गर्न ठुलो संख्यामा आफन्त तथा साथीहरू पुग्दा टर्मिनल परिसरमा अत्यधिक भिडभाड हुने गरेको छ। यसले व्यवस्थापनमा चुनौती थप्नुका साथै यात्रु आवागमनमा अवरोध सिर्जना गर्ने गरेको जनाइएको छ।

यसअघि पनि पटक-पटक सूचना जारी गरेर यस्तै आग्रह गरिए पनि अपेक्षित रूपमा भीड नियन्त्रण हुन नसकेको विमानस्थलले उल्लेख गरेको छ। भीडका कारण सुरक्षा व्यवस्थापनमा जटिलता उत्पन्न हुनुका साथै आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई असुविधा भइरहेको छ।

यस अवस्थालाई मध्यनजर गर्दै विमानस्थल प्रशासनले यात्रुको सहज आवागमन र सुरक्षा सुनिश्चितताका लागि आवश्यक न्यूनतम संख्यामा मात्र बिदाइका लागि उपस्थित हुन सबैलाई पुनः अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *