रुबीकुमारी ठाकुर प्रतिनिधि सभा उपसभामुखमा निर्वाचित

Thankot Times

थानकोट ।

प्रतिनिधिसभाकाे उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । उपसभामुखका लागि शुक्रबार भएकाे चुनावमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै ठाकुर विजयी भएकी हुन् ।

निर्वाचनमा उपस्थित २५६ सांसदमध्ये ठाकुरले २२९ मत प्राप्त गरिन् । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२  जना तटस्थ बसे ।

श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

लामाले पाँच मत मात्रै पाइन् । सदनमा राप्रपाका पाँच सांसद छन् । लामालाई राप्रपाबाहेकका दलका सांसदले मत दिएनन् ।

शुक्रबारको बैठकमा २ सय ५६ सांसद उपस्थित छन् । राप्रपाकी लामाको विपक्षमा २१५ मत खस्यो भने तटस्थमा ३७ मत परेको छ ।

ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीबार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

को हुन् उपसभामुख बनेकी रुबी ?

धनुषाको जनकपुरधाम– १४, मुजेलियाकी २५ वर्षीया रुबी सिभिल इन्जिनियरिङ अध्ययन गरेकी युवती हुन् । विपन्न परिवारमा जन्मिएकी उनी घरकी जेठी सन्तान हुन् । उनका बुबा शोगारथ ठाकुर वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा हजामको काम गर्दै आएका छन् भने आमा रेनु देवीले इँटाभट्टामा काम गरेर परिवार धानेकी थिइन् ।

तीन बहिनी र दुई भाइसहितको ठूलो परिवारमा हुर्किएकी उनको पढाइप्रतिको लगाव देखेर उनका बुबाआमाले दुःख सहेरै भए पनि उनलाई शिक्षित बनाएका थिए । पढाइमा अब्बल रुबीले सिभिल इन्जिनियरिङ पूरा गरेपछि एक कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियरको रूपमा काम गरिरहेकी थिइन् । राजनीतिप्रति खासै चासो नराख्ने उनी चुनावअघि आफ्नो पेसामै व्यस्त थिइन् । तर, उनको जीवनले अप्रत्याशित मोड लियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *