बालेन र रविको एकतामा स्वार्थ छ, लामो समय टिक्दैन: पोखरेल
थानकोट।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिचको सहकार्य दिगो नहुने टिप्पणी गरेका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले दुई नेताको मिलन विचारभन्दा पनि स्वार्थबाट प्रेरित भएको आरोप लगाए।
उनले कुनै पनि राजनीतिक आन्दोलनमा विचार र भावनाको साटो स्वार्थले मात्र स्थान पाएमा त्यस्तो एकता लामो समय नटिक्ने दाबी गरे।
‘रवि लामिछाने र बालेन चुनावी स्वार्थका लागि मिलेका हुन्, उनीहरूको मन मिलेको छैन,’ पोखरेलले भने, ‘जब विचारले जोड्दैन, त्यो एकता टिक्न सक्दैन भन्ने कुरा हाम्रै पार्टी नेकपाको अनुभवले पनि पुष्टि गरिसकेको छ।’
महासचिव पोखरेलले सत्ता केन्द्रित राजनीतिले समाज परिवर्तन गर्न नसकिने तर्क गर्दै एमाले अबको पाँच वर्ष जनताकै बिचमा रहने सुनाए।
एमाले विगतमा केही समय सत्तामुखी र केन्द्रमुखी हुँदा जनता र युवासँगको सम्बन्ध टाढिएको उनले स्वीकार गरे। ‘हामी राज्यको माथिल्लो ढाँचाबाट समाज बदल्न खोज्दा कताकता जनताबाट टाढिएछौं,’ उनले थपे, ‘अब हामी प्रतिपक्षमा छौं, पाँच वर्ष हाम्रा लागि जनतासँग सम्बन्ध जोड्ने अवसर हो।’
पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानमार्फत एमाले अब पूर्ण रूपमा जनता, युवा र वैदेशिक रोजगारीमा रहेका नागरिकसँग जोडिने उनले उद्घोष गरे।
उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षलाई पूरा गर्न एमालेलाई पुनः निर्णायक शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्पसमेत गरे।













