नयाँ वर्ष, नयाँ ब्याजदर: कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?
थानकोट ।
वाणिज्य बैंकहरूले आगामी वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
आउँदो महिनाका लागि पछिल्लो महिनाको अन्तिम दिन (मसान्त) मै प्रस्तावित ब्याजदर प्रकाशित गर्नुपर्ने केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) को नियम अनुसार २० वटै वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक ब्याजदर अनुसार नयाँ वर्षको पहिलो महिना (वैशाख)का लागि अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । चैत महिनाका लागि कायम ब्याजदरको तुलनामा बैंकहरूले ०.१० प्रतिशतदेखि ०.५० प्रतिशतसम्मले ब्याजदर घटाएका छन् ।
ब्याजदर घटाउने बैंकहरू
सिटिजन्स बैंकले चैत महिनाका लागि ४.५० प्रतिशत ब्याजदर प्रदान गरेकोमा आगामी वैशाख, २०८३ का लागि निक्षेपको ब्याजदर ४.१५ प्रतिशत प्रस्ताव गरेको छ ।
यसैगरी ब्याजदर घटाउनेहरूमा एभरेस्ट ४.०५ प्रतिशत, हिमालयन बैंक ४.५० प्रतिशत, कुमारी बैंक ४.०५ प्रतिशत, एनआईसी एसिया बैंक ४.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ४.७५ प्रतिशत, सिद्धार्थ बैंक ४.० प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.१० प्रतिशत ब्याजदर कायम गरेका छन् ।
सार्वजनिक ब्याजदर अनुसार सबैभन्दा धेरै ब्याजदर घटाउने हिमालयन बैंक रहेको छ, जसले चैतको तुलनामा वैशाखका लागि ०.५० प्रतिशतले ब्याजदर घटाएको छ ।
चैत महिनाकै ब्याजदर कायम गर्ने बैंकहरू
कृषि विकास, ग्लोबल आईएमई बैंक, इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सानिमा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।













