यस्ता छन बागमती मन्त्रिपरिषद् बैठकका निर्णय

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै सचिवको जिम्मेवारी हेरफेर गरेको छ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवका रूपमा खुसीराम अधिकारीलाई तोक्ने निर्णय गरिएको हो।

यसैगरी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको उक्त बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरको बकैया गाउँपालिका-५ निवासी दामोदर खनाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। सरकारले यसलाई नीति कार्यान्वयन र राजनीतिक समन्वयलाई थप प्रभावकारी बनाउने कदमका रूपमा लिएको जनाएको छ।

त्यस्तै, सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठलाई नियुक्त गरिएको छ। स्वास्थ्य सेवामा कार्यरत ११औँ तहका वरिष्ठ अधिकृत डा। अर्जुन सापकोटाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले बागमती प्रदेश विश्वविद्यालयको सदस्यमा डा. प्रेमनारायण अर्याललाई मनोनयन गरेको छ। साथै, प्रदेश निजामती कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकनसम्बन्धी नीति स्वीकृत गरिएको छ।

शिक्षा क्षेत्रमा शैक्षिक छात्रवृत्ति निर्देशिका २०७२ लाई स्वीकृति दिइएको छ भने नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शङ्ख बुद्धलामालाई नियुक्त गरिएको छ।

संरचनागत सुधारतर्फ त्रिभुवन पार्क व्यवस्थापन तथा सञ्चालनसम्बन्धी पहिलो संशोधन गठन आदेश स्वीकृत भएको छ। त्यसैगरी प्रदेश प्रवर्द्धन ऐन २०८३ र प्रदेश राष्ट्रिय वन ऐन २०८३ का मस्यौदालाई प्रदेश सभामा पेस गर्न अनुमति दिइएको छ।

गरिबी निवारण नीति २०८२ पनि मन्त्रिपरिषदबाट स्वीकृत गरिएको छ। समस्याग्रस्त सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरूले दिएको राजीनामा गत माघ ५ गतेदेखि लागू हुने गरी स्वीकार गरिएको जनाइएको छ।

यसका अतिरिक्त स्थानीय तहमा वित्तीय अनुदान वितरणसम्बन्धी निर्देशिका पनि स्वीकृत भएको छ। सरकारले यी निर्णयहरूलाई प्रशासनिक सुधार, सेवा प्रवाह सुदृढीकरण तथा नीति कार्यान्वयनलाई प्रभावकारी बनाउने दिशामा केन्द्रित रहेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *