सतुङ्गलमा आङ नै सिरिङ्ग हुने सवारी दुर्घटना, एउटा कारले पैदल यात्रु र खम्बालाई ठक्कर दिएपछि…….
थानकोट ।
कलंकी-नागढुङ्गा सडक खण्डको सतुङ्गलमा बिहीबार बिहान आङ नै सिरिङ्ग हुने सवारी दुर्घटना भएको छ ।
प्रहरीका अनुसार बिहान करिब ३ बजे सडक किनारबाट हिंडिरहेका नेपाली सेनाका कर्मचारीलाई ठक्कर दिएको एउटा नीजि कार बिजुलीको खम्बामा ठोक्किएको हो ।
कारको ठक्करबाट घाइते भएका नेपाली सेनाका कर्मचारीको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेकोमा अहिले नेपाली सेनाको अस्पताल छाउनी रिफर गरिएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ । उनी ड्युटी सकेर घर फर्कँदै गरेका बुझिएको छ ।
अहिले घटनास्थलमा कार यथास्थितिमा रहेको छ । कारले ठक्कर दिएको खम्बा भाँचिएको र कार हटाउँदा खम्बा ढल्ने अवस्था बनेको छ ।
दुर्घटनास्थलबाट कार हटाउँदा विद्युतको खम्बा ढल्ने भएपछि सो बारेमा विद्युत प्राधिकरणमा समन्वय भइरहेको प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्काले थानकोट टाइम्सलाई जानकारी दिइन् ।
घटनामा भएको क्षतिको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












