रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा, चन्द्रागिरि र कीर्तिपुरका जनप्रतिनिधि रथ तान्न पुगे
थानकोट ।
रातो मच्छिन्द्रनाथको रथ आज लगनखेलबाट तानेर बुधबार साँझ जावलाखेल पुर्याइएको छ ।
बुधबार ललितपुर महानगरपालिका–६, ईतिटोलबाट रथ तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्याइएको हो ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । रथ तान्न बुधबार चन्द्रागिरि तथा कीर्तिपुर नगरका सात गाउँले गुठीयारसमेत ललितपुर पुगेका थिए ।
बुधबार चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका का जनप्रतिनिधिहरू तथा सात गाउँले गुठीका गुठीयारहरू लगायत रथ तान्न ललितपुर पुगेका थिए । ललितपुर महानगरपालिकाले ईतिटोलबाट रथ तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्याइने दिन वर्षेनी सात गाउँले जात्राका गुठीयारहरूलाई रथ तान्न निम्तो पठाउने परम्परा छ ।
रथ यात्रामा सहभागीताका लागि चन्द्रागिरि नगरले सवारीसाधनको व्यवस्था गरेको थियो ।
बुधबार जावलाखेल पुर्याएसँगै अब यही शनिबार भोटो जात्रा मनाइने छ।
रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो ।
मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।
भोटो देखाएसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

तस्बिरः प्रताप महर्जन










