आत्मदाह प्रकरणः काठमाडौं महानगरपालिकाद्वारा दुःख व्यक्त, परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने
थानकोट ।
काठमाडौं महानगरपालिकाले राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
महानगरका प्रवक्ता, नविन मानन्धरले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महानगर परिवार स्तब्ध भएको बताए ।
मुगु जिल्ला घर भई हाल भक्तपुर बस्ने नेपालीले असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए ।
उपचारका क्रममा नेपालीको निधन भएको थियो ।
प्रवक्ता मानन्धरले उक्त घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी प्राप्त भएको र उक्त समितिलाई महानगरले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने पनि महानगरले स्पष्ट पारेको छ ।
महानगरले आत्मदह गरेका नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने जनाएको छ ।
यस्तै, नेपालीको परिवारका सदस्यलाई रोजगारीको अवसर र उनका सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा कार्यपालिकाको आगामी बैठकबाट विधिसम्मत रूपमा निर्णय गरिने प्रवक्ता मानन्धरले बताए ।
महानगरले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न तथा असल अभ्यास विकास गरी कार्यान्वयन गर्न तयार रहेको जनाएको छ ।









