काठमाडौंसहित देशभर बर्डफ्लु संक्रमण नियन्त्रणमा : पशु सेवा विभाग

Thankot Times

थानकोट ।

पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौंलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए ।

पशु सेवा विभागका अनुसार यही १ साउनदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौंको गोकणेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो ।

विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन । संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ । उनले भने, ‘अहिले नियन्त्रित अवस्थामा छ । बर्डफ्लु देखिएका क्षेत्रको वरिपरिका नमुना ल्याएर परीक्षण गर्दैछौँ ।’

विभागको तथ्यांक अनुसार ४ चैतमा केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो । यससँगै ६ चैतमा कृषि तथा पशु पन्छी विकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो ।

मोरङकाे उर्लाबारी–८ र सुन्दर हरैचा–४ मा पहिलोपटक बर्डफ्लु देखिएको हो । दाहालका अनुसार कमर्सियल लेयर्स बढी प्रभावित भएको थियो । यस्तै प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा रोगको संक्रमण भएको थियो । हालसम्म ११ जिल्लामा संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यका बाहेकका सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उनले बताए । काठमाडौं उपत्यका र काभ्रे जिल्लामा मात्र ११९ स्थानमा रोग पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ९२ स्थानमा संक्रमण देखिएको थियो । जसमध्ये काठमाडौंमा ३२, ललितपुरको सदर चिडियाखाना गरी १५ र भक्तपुरमा ४५ ठाउँमा संक्रमण देखिएको थियो ।

काभ्रेपलाञ्चोकमा मात्र २७ स्थानमा संक्रमण देखिएको विभागले जनाएको छ । विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार नेपालभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ ।

एघार लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ । काठमाडौं उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो । महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ । ५० करोड रुपैयाँ बजेट रकमान्तर भई ५२ करोड व्यवस्थापन भएकोमा हाल सम्म १०४ जना कृषक र फर्मको खातामा ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरी सकेको छ ।

देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाले तीव्र रूपमा परीक्षण अघि बढाएका छन् । सरकारको तदारुकता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सकेको हो । अब थप संक्रमण हुने सम्भावना कम रहेको वरिष्ठ पशुचिकित्सक उपाध्यायले बताए ।

संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ । यससँगै किसानले मूल्य पाउन थालेका छन् । संक्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए । चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यता आएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *