निर्मल पुर्जासहितको टोली ब्रड पिकमा सम्पर्कविहीन भएको खबरले दु:खी छु- पर्यटन मन्त्री पाैडेल
थानकोट ।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालीमूलका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहितको टोली पाकिस्तानको ब्रड पिकमा सम्पर्कविहीन भएको खबरले दु:खी भएको बताएका छन् ।
मन्त्री पौडेलले सामाजिक सञ्जालमा उक्त खबरले दु:खी भएको बताउँदै टोलीको खोजी तथा उद्धारमा रहेका पाकिस्तानी अधिकारीहरूसँग नियमित सम्पर्कमा रहेको जनाएका छन् ।
‘पाकिस्तानमा हिमपहिरो गएको र निर्मल पुर्जा ‘निम्स दाइ’ तथा अन्य नेपाली आरोहीहरूसँग सम्पर्कविहीन भएको खबरले हामी गहिरो चिन्तित छौँ,’ मन्त्री पौडेलले लेखेका छन्, ‘हामी पाकिस्तानी अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ, र घटनाक्रमबारे अद्यावधिक जानकारी प्राप्त गरिरहेका छौँ ।’
उनले अगाडि लेखेका छन्, ‘हाम्रा विचार र शुभेच्छा आरोहीहरू तथा उनीहरूका परिवारहरूसँग छन् ।
हामी उनीहरू सुरक्षित रूपमा फर्किने आशामा छौँ ।’
पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरो जाँदा नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ ।











