तीनथानामा भयानक सडक दुर्घटना, घाइते दुवै जनाको मृत्यु, मृतक चन्द्रागिरि निवासी
थानकोट ।
चन्द्रागिरि नगरपालिका–१५ तीनथाना सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एकआपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार बिहान २:५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ गइरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक ४० वर्षीय दीपक नेपाल र पछाडि सवार ५६ वर्षीया शुभद्रा कुमारी नेपाललाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिएको थियो।
उनीहरूको अवस्था गम्भीर भएपछि थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल रिफर गरिएको थियो।
उपचारकै क्रममा चन्द्रागिरि नगरपालिका–१२ हरियाली निवासी दीपक नेपाललाई चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसैगरी, चन्द्रागिरि नगरपालिका–१४ निवासी शुभद्रा कुमारी नेपाललाई बिहान ७:०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलंकीको नियन्त्रणमा रहेको छ भने मिनी ट्रक र चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।










