निर्मल पुर्जाकाे निधनमा अन्नपूर्ण गाउँपालिकामा शाेक बिदा
थानकोट ।
कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा जन्मिएका पुर्जाको निधनमा भोलि साेमवारका लागि शोक बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ ।
अध्यक्ष भरतकुमार पुनले निकालेको विज्ञप्तिमा पाकिस्तानको ‘ब्रड पिक’ हिमाल आरोहणका क्रममा निर्मल पुर्जासहित उहाँको टोलीका सदस्यहरूको निधन भएकोमा दुःख व्यक्त गरिएको छ । आइतवार बेलुका आएको हिमपहिरोमा परेर ६ जना नेपालीसहित १० जनाको ज्यान गएको थियो ।
यसैबीच अल्पाइन क्लब अफ पाकिस्तानले निर्मल पुर्जाको शव ५ हजार ७०० मिटर उपचाइमा फेला परेको जानकारी दिएको छ ।
पाकिस्तानको स्कार्दुमा रहेका नेपाली पर्वतारोही तथा निर्मल पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याल्जे शेर्पाले आरोहीहरूको शव आज पहिलो शिविरमा ल्याउने जानकारी गराएका छन् ।
उनका अनुसार पहिलो शिविरमा झारेपछि भोलि शवलाई ब्रड पिक हिमालका फेदीमा पर्ने जापानी क्याम्पसम्म ल्याउने योजना छ ।
मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टरमार्फत शव उद्धार गर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।










