काठमाडौँको गोठाटारमा भीषण आगलागी, १४ वटा सटर जलेर क्षतिग्रस्त, १ जना घाइते
थानकोट ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटार पहेँलो पुलनजिकै गए राति भीषण आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ।
स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत् सर्ट भई शनिबार राति ९:१५ बजे आगलागी भएको हो।
आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी सुरक्षा टोली परिचालन भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाको कमान्डमा १०० जना, विपद् व्यवस्थापन सामाखुसीबाट प्रहरी निरीक्षकको कमान्डमा २५ जना र सशस्त्र प्रहरी बल सिनामंगलबाट २५ जना गरी कुल १७५ भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए।
सुरक्षा निकाय, ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीयवासीको संयुक्त प्रयासमा राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाएको छ ।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका-९, गोठाटार बस्ने ३७ वर्षीय नरेश थापा घाइते भएका छन्।
टहराको जस्ताबाट खसेर घाइते भएका थापाको नगर अस्पताल मूलपानीमा सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।










