नेपाल भलिबल लिग (एनभीएल)को ट्रफी सार्वजनिक
थानकोट ।
पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक भएको छ ।
ललितपुरको पाटन दरबार क्षेत्रमा आज एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो ।
यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाण्डौको वसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ ।
एनभीएलको पहिलो संस्करण यही भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने तयारी छ ।
यसअघि यो प्रतियोगिता भदौ ४ गतेदेखि १३ गतेसम्म हुने तयारी थियो । तर आयोजक केडिया ग्रुपले गएको शुक्रवार नयाँ मिति तय गरेको हो ।
पहिलो संस्करणमा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, काठमाण्डौ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्ग्स र कर्णाली शिवराज छन् । गएको साउन १० गते घरेलु खेलाडीको ‘अक्शन’ भइसकेको छ ।











