चन्द्रागिरिका ८६ जना शिक्षकलाई कम्प्युटर विज्ञान र कृत्रिम बुद्धिमतासम्बन्धी प्रशिक्षण
थानकोट ।
चन्द्रागिरि नगरपालिका क्षेत्रका ४१ वटा विद्यालयका ८६ जना शिक्षकलाई कम्प्युटर विज्ञान र कृत्रिम बुद्धिमता सम्बन्धी प्रशिक्षण दिइएको छ ।
‘शिक्षण तथा सिकाइमा कम्प्युटर विज्ञानको पाठ्यक्रम, मूल्याङ्कन र एआई उपकरणहरू’ विषय प्रशिक्षण आइतबार सम्पन्न भएको हो ।
कार्यक्रममा चन्द्रागिरि क्षेत्रमा प्याब्सन आबद्ध तथा सामुदायिक गरी ४१ विद्यालयका ८६ शिक्षक सहभागी भएका चन्द्रागिरि प्याब्सनका अध्यक्ष सरोज महर्जनले जानकारी दिए ।
कार्यक्रममा प्रशिक्षक तथा लेखकद्वय इन्जिनियर नवीन मास्के र विमल थापाले कम्प्युटर विज्ञानको पाठ्यक्रम, मूल्याङ्कन रणनीति तथा शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणको व्यावहारिक प्रयोगबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा प्रिन्ट नेपाल पब्लिकेशनका अध्यक्ष राजेन्द्र थपालियाले शिक्षकको आवश्यकता र मागअनुसार आगामी दिनमा थप तालिम सञ्चालन गरिने बताए।सामुदायिक विद्यालय संघ चन्द्रागिरि नगर अध्यक्ष कविन्द्र गोपाली, चन्द्रागिरि नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद भट्ट लगायतले कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सामुदायिक र निजी विद्यालयबीचको सहकार्यले शिक्षण–सिकाइको गुणस्तर सुधारमा योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।











