पूर्वाधार निर्माणका लागि चन्द्रागिरि नगरसँग संघ सरकारले माग्यो आयोजनाको सूची, २७ करोड बजेट
थानकोट ।
संघीय सरकार अन्तर्गतको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयले चन्द्रागिरि नगरपालिकासँग निर्माण गर्न अत्यावश्यक पूर्वाधारहरूको आयोजना सूची माग गरेको छ ।
कार्यालयले कार्तिक २० मा पत्र लेख्दै नगरपालिकामा सञ्चालन हुने सघन शहरी विकास कार्यक्रमका लागि बहुवर्षिय वार्षिक रुपमा संचालन हुने बजेट २६ करोड ९४ लाख रुपैयाँको स्रोत सुनिश्चित भएको भन्दै आयोजना माग गरेको नगरप्रमुख घनश्याम गिरीले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
सघन शहरी विकास कार्यक्रम कार्यान्वयन कार्यविधि-२०८३ अनुसार आयोजना पहिचान गरि उपलब्ध गराउन कार्यालयका प्रमुख इञ्जिनियर रमेश थपलियाले पठाउन भनेका हुन् ।
उक्त कार्यविधि अनुसार सडक खण्ड, कभर्ड, सभा हल, पार्किङ प्रयोजन बाहेकको बसपार्क टर्मिनल भवन, भ्यु-टावर, चिस्यान केन्द्र, चलन चल्तीका बाटो बाहेक नयाँ ट्य्राक खोल्ने सडकहरू समावेश गर्न पाइने छैन् ।
यस कार्यक्रम अन्तर्गत आयोजनाको पहिचानका लागि नगरप्रमुख घनश्याम गिरीको संयोजकत्वमा आयोजना सहजीकरण समिति रहने बताइएको छ ।












