भोटेकोशीमा अकल्पनीय बाढीः प्रधानमन्त्रीद्वारा उच्चस्तरीय बैठक आह्वान

Thankot Times

थानकोट ।

रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार तथा राहत कार्यका लागि सरकारले तीनवटै सुरक्षा निकाय र थप जनशक्ति परिचालन गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उद्धार र राहतलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अन्य जिल्लाहरूबाट समेत अतिरिक्त जनशक्तिसहित प्रभावित क्षेत्रतर्फ पठाइसकिएको बताएका छन् ।

सरकारले उद्धार तथा व्यवस्थापनका कदमहरू 

सुरक्षा निकाय र जनशक्ति परिचालन

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा जुटिसकेका छन् । छिमेकी जिल्लाहरूबाट थप सुरक्षा जनशक्ति प्रभावित क्षेत्रतर्फ ‘मुभ’ भइसकेका छन्।

स्वास्थ्य र मानवीय सहायता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सक्रिय गराउँदै मेडिकल टिम, नेपाल स्काउट र रेडक्रससँग समन्वय गरी काम सुरु गरिएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको छ।

तटीय क्षेत्रमा अलर्ट र स्थानान्तरण: नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । स्थानीयलाई एसएमएस र टेलिफोन कलमार्फत सुरक्षित स्थानमा जान पूर्वसूचना तथा अलर्ट गराइएको छ।

हेलिकाेप्टर स्ट्यान्डबाइ

सम्भावित हवाई उद्धार तथा राहत सामग्री ढुवानीका लागि सबै सरकारी हेलिकाेप्टरहरू प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी हेलिकाेप्टर कम्पनीहरूलाई समेत तयारी  स्थामा रहन निर्देशन दिइसकिएको छ ।

उच्चस्तरीय बैठक

प्राकृतिक विपद्पछिको अवस्था मूल्याङ्कन गरी आगामी रणनीति तय गर्न सरकारले केही बेरमै उच्चस्तरीय बैठक बोलाएको छ । प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका सम्पूर्ण बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

आफन्तहरूसँग सम्पर्क हुन नसकेको खण्डमा आधिकारिक उद्धार टोलीको अपडेट कुर्न अनुरोध गर्दै आपत्कालीन जानकारी तथा राहतका लागि सरकारी हेल्पलाइन १२३४, १०० र ११११ मा सम्पर्क गर्न आह्वान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *