चन्द्रागिरिको एक कम्पनीविरुद्ध ट्रेडमार्क दुरुपयोगको उजुरी

Thankot Times

थानकोट ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चन्द्रागिरि नगरपालिकास्थित एसटीसी ग्रुपविरुद्ध गैरकानुनी रूपमा ट्रेडमार्क प्रयोग गरेको भन्दै उद्योग विभागमा उजुरी दिएको छ ।

साल्ट ट्रेडिङले गत वैशाख १० गते एसटीसी ग्रुपविरुद्ध उजुरी दर्ता गरेको उद्योग विभागले जनाएको छ ।

उद्योग विभागमा परेको उजुरीअनुसार साल्ट ट्रेडिङसँग सम्बन्धित ‘एसटीसी’ ट्रेडमार्क गैरकानुनी रूपमा प्रयोग गरिएको दाबी गरिएको छ ।

उजुरीका सम्बन्धमा आफ्नो लिखित प्रतिक्रिया पेस गर्न विभागले एसटीसी ग्रुपका नाममा ७ दिने म्याद सूचना जारी गरेको थियो । विभागले उजुरीको प्रतिलिपिसहित संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिम लिखित प्रतिक्रिया पेस गर्न म्याद दिएको जनाएको छ ।

तर, तोकिएको समयमा एसटीसी ग्रुपबाट कुनै लिखित प्रतिक्रिया प्राप्त नभएको र म्याद तामेलीसम्बन्धी प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो ।

विभागले बाटाको म्यादबाहेक सात दिनभित्र कानून शाखामा आइपुग्ने गरी आवश्यक सबुद प्रमाणसहित लिखित प्रतिक्रिया पेस गर्न एसटीसी ग्रुपलाई भनेको छ ।

विभागका अनुसार सम्बन्धित पक्षले आफैँ वा आफ्नो कानूनी प्रतिनिधिमार्फत उपस्थित भई लिखित प्रतिक्रिया तथा प्रमाण पेस गर्न सक्नेछ ।

तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया प्राप्त नभएमा प्रचलित कानूनबमोजिम कारबाही अघि बढाइने विभागले चेतावनी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ