काठमाडौंमा पछिल्लो ५ दिनमा २ लाख ३३ हजार सिलिन्डर ग्यास बिक्री
थानकोट ।
पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका २ लाख ३३ हजार ६६२ सिलिन्डर ग्यास बिक्री गरिएको छ ।
पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिन्डर रिफिल गरी वैकल्पिक बाटोबाट ती सिलिन्डर काठमाडौंमा ल्याई बिक्री गरिएका हुन् ।
निगमका अनुसार सोमबार ४८ हजार १०९, मंगलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिन्डर काठमाडौं ल्याएर बिक्री गरिएका छन् ।
मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही १४ भदौदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिन्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको थियो ।
पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिन्डर काठमाडौं ल्याई बिक्री गरिने निगमले जनाएको छ ।










