आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाल क्यानडासँग २४ रनले पराजित
थानकोट ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा शनिबार क्यानडासँग २४ रनको हार व्यहोरेको छ ।
यस हारसँगै नेपाललाई शीर्ष ६ मा स्थान बनाउन दबाब थपिएको छ । नेपालले शीर्ष ६ पक्का गर्न सोमबार ओमानलाई हराउनै पर्ने भएको छ ।
जितसँगै क्यानडाले पनि शीर्ष ६को सम्भावनालाई जिवितै राखेको छ । तर, टोलीले नेपाल र ओमानबीचको खेल कुर्नुपर्ने हुन्छ ।
ओमानको अल अमिरेत रंगशालामा क्यानडाले प्रस्तुत गरेको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमै समेटियो ।
नेपालका अर्जुन कुमालले सर्वाधिक ८७ रनको योगदान दिए । उनले ११२ बलमा चार चौका प्रहार गरे । यसैगरी, दीपेन्द्रसिंह ऐरीले २७, गुल्शनकुमार झा र इशान पाण्डेले २१–२१, आसिफ शेखले २०, रोहितकुमार पौडेलले १८ र करण केसीले अविजित १७ रन बनाए ।
क्यानडाका सुखजिन्दर सिंहले तीन, कलिम साना र सहिल पटेलले दुई–दुई तथा जाहिद शिर्जादले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रनको योगफल तयार परेको थियो ।
क्यानडाका युवराज समराले सर्वाधिक १०५ रनको योगदान गरे । उनले ११७ बलमा ११ चौका र चार छक्का प्रहार गरे । यसैगरी, आरोन जोनसनले ३६, हर्ष थाकरले ३४, कप्तान हम्जा तारिकले ३, समित गोहेलले १७ र आदित्य वर्दराजनले १२ रन बनाए ।
नेपालका ललितनारायण राजवंगशीले चार, कप्तान सन्दीप लामिछाने तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहितकुमार पौडेलले एक विकेट लिए ।
जितसँगै ३६ खेलमा २९ अंक जोडेको क्यानडा छैटौँ स्थानमा उक्लिएको छ । परराजित नेपाल ३५ खेलबाट २८ अंकका साथ सातौँ स्थानमा झरेको छ ।














