काठमाडौं महानगरले सुरु गर्‍याे ‘बाइक एम्बुलेन्स’ सेवा, १०२ मा फोन गर्नुपर्ने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ ।

सवारी जामका कारण चारपांग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने अवस्थामा बिरामीसम्म स्वास्थ्यकर्मी छिटो पुर्‍याउने उद्देश्यले सेवा सुरु गरिएको हो ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगाेलले काठमाडौं प्लाजाबाट सेवाको शुभारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई दुईपाङ्ग्रे एम्बुलेन्स हस्तान्तरण गरेकी छन् ।

हाललाई यो सेवा काठमाडौं महानगरपालिका क्षेत्रभित्र उपलब्ध हुनेछ ।

महानगरपालिकाका अनुसार बाइक एम्बुलेन्समा खटिने इमर्जेन्सी मेडिकल टेक्निसियन (इएमटी) ले चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि बिरामीलाई प्राथमिक उपचार गर्नेछन् ।

यसबाट बिरामीको अवस्था थप बिग्रिन नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिनेछ ।

बाइक एम्बुलेन्स बिरामी बोक्ने सवारीसाधन नभई बिरामी भएको स्थानमा स्वास्थ्यकर्मी छिटो पुर्‍याउने माध्यम हो ।

यो सेवा लिन १०२ नम्बरमा फोन गर्नुपर्नेछ ।

कार्यक्रममा नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवामा महानगरपालिकाको लगानीले नागरिकको जीवन बचाउन योगदान पुर्‍याइरहेको बताए ।

तस्बिरः काठमाडाैं महानगरपालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ